दक्षिण सुडानमा पनि इन्स्पेक्टर कृष्ण गिरी ‘पिसकिपर अफ द मन्थ’ बाट सम्मानित
नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण गिरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (UNMISS) मा ‘पिसकिपर अफ द मन्थ’ अर्थात् महिनाको उत्कृष्ट शान्ति सैनिकको सम्मानबाट सम्मानित हुनुभएको छ।
दक्षिण सुडानमा कार्यरत प्रहरी निरीक्षक गिरीले उक्त सम्मान प्राप्त गरेपछि मिसनका प्रहरी कमिस्नर, वरिष्ठ अधिकारी, सुपरभाइजर, सहकर्मी तथा UNMISS टोलीप्रति आभार व्यक्त गर्नुभएको छ।
उहाँले शान्ति स्थापना गर्नु पेसागत जिम्मेवारी मात्र नभई मानवताप्रतिको प्रतिबद्धता र महत्वपूर्ण अवसरसमेत भएको उल्लेख गर्नुभएको छ। कर्तव्यप्रतिको समर्पण, इमानदारी र जिम्मेवारीबोधका साथ नियमित जिम्मेवारीभन्दा माथि उठेर सेवा गर्नु नै वास्तविक सेवाभाव भएको उहाँको भनाइ छ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपाल प्रहरीको प्रतिनिधित्व गर्न पाउँदा गौरवान्वित भएको बताउँदै गिरीले शान्ति स्थापनाको जिम्मेवारी अझ प्रतिबद्धताका साथ निर्वाह गर्ने भावना व्यक्त गर्नुभएको छ।
प्रहरी निरीक्षक गिरीले प्राप्त गर्नुभएको यस सम्मानले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सुरक्षाकर्मीको योगदानलाई थप उजागर गरेको छ।
अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपाल प्रहरीको प्रतिष्ठा अभिवृद्धि गर्न सफल प्रहरी निरीक्षक कृष्ण गिरीलाई हार्दिक बधाई तथा आगामी सेवाका लागि शुभकामना।

