निराज रानाभाट, काठमाडौं । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मोफसल कै चर्चित चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय १२ औं वार्षिकोत्सव काठमाडौंमा एक भब्य कार्यक्रम गरेर मनाएको छ । छापा पत्रकारिताको दुनियाँमा १ दशकदेखि अनवरत रूपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका हो । छापासँगै अहिले इचितवन खबर अनलाइन प्रकाशन पनि हुँदै आएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको आतिथ्यतामा शुभ – कामना आदान प्रदान गरिएको थियो ।वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि सुशील कोइराला मेमोरियल फाउण्डेशनका सदस्य सचिव ई. अतुल कोइरालाले विभिन्न चुनौतीका बीच पत्रकारितालाई नियमित गरेको भन्दै चितवन खबर पत्रिकाको उच्च प्रशंसा गरेका थिए । समाजलाई सकारात्मक रुपान्तरणका लागि मिडियाको महत्वपूर्ण भुमिका हुने भएकाले चितवन खबर पत्रिकाको थप सफलताको शुभ – कामना व्यक्त गरे ।
उक्त कार्यक्रमको विशिष्ट अतिथि नेपाली चलचित्र जगतकी पहिलो महिला विशिष्ट हाँस्य कलाकार बसुन्धरा भुषालले नियमित प्रकाशनमा रहेको चितवन खबर पत्रिकाको थप निरन्तरताको लागि शुभ – कामना दिइन् । त्यसैगरी, नेपाली चलचित्र जगतका चर्चित अभिनेता तथा निर्देशक सरोज खनालले मिडियाले कला र कलाकारलाई सधैं माया गर्दै आएको भन्दै मिडिया र कलाकारिता बीच सधैं नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताए । उनले विगत १ दशकदेखि देशको समग्र आर्थिक, सामाजिक, राजनैतिक रूपान्तरण खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताए । आगामी दिनमा पत्रिकाले सामाजिक उत्तरदायित्वका साथै आवाज विहीनको आवाजको रूपमा सदैव स्थापित हुने विश्वास व्यक्त गरे । नेपाली चलचित्र जगतका चर्चित सदावहार अभिनेत्री करिश्मा मानान्धरले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजलाई सुसूचित गरेको भन्दै प्रशंसा गरे। उनले आगामी दिनमा पत्रिकाले विकृति विसङ्गतिलाई चिर्दै समाजको ऐनाको रूपमा भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने भन्दै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गरे ।
यसैगरी, नेपाली सांगितिक क्षेत्रका चर्चित बरिष्ठ गायक आनन्द कार्कीले पत्रिकालाई शुभ – कामना दिँदै पत्रकारिताको जगतबाट चितवन खबरले समाजमा पुर्याएको योगदान प्रशंसा गरे । उक्त कार्यक्रममा समाजसेवी नारायण अधिकारीलाई सम्मान गरिएको छ । अधिकारीले नेपालका विभिन्न क्षेत्रमा सामाजिक कामका लागि सहयोग गर्दै आएका छन । आर्थिक अवस्था कमजोर भएकाहरुलाई र असक्त वृद्धवृद्धाहरुका लागि अधिकारीले विभिन्न समयमा सहयोग गर्दै आएका छन । उक्त कार्यक्रमको सभापति एवम् पत्रिकाका निर्देशक गोबिन्द राज पाण्डेले आगामी दिनमा सबैको सल्लाह – सुझाव अनुसार नै पत्रिकालाई अझ परिष्कृत र परिमार्जन गर्दै लैजाने र पत्रिकालाई यहाँसम्म ल्याई पुर्याउने समस्त पाठक, शुभेच्छुक विज्ञापनदाता प्रति पाण्डेले आभार प्रकट गरे । निर्देशक गोबिन्द राज पाण्डेले जस्तोसुकै विषम परिस्थितिमा पनि पत्रिकाले आफ्नो व्यावसायिक धर्म निर्वाह गर्दै आएको बताए । उक्त कार्यक्रममा लक्की मिडिया हाउस चितवनको टिम लगायत नागरिक अगुवा, पत्रकार, शुभेच्छुक, विज्ञापनदाता लगायतको उपस्थिति रहेको थियो । चितवन खबर पत्रिका सँगै अनलाइन संस्करण इ चितवन खबर डट कम मार्फत पनि सूचना समाचार सम्प्रेषण गर्दै आएको छ ।


