एसएसपी सोमेन्द्र सिंह राठौरले सम्हाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा जिम्मेवारी
नेपाल सरकार, गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखमा सरुवा हुनु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट सरुवा भई उहाँले सोमबार विमानस्थलमा आफ्नो जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो।

नयाँ जिम्मेवारी सम्हाल्दै एसएसपी राठौरले विमानस्थल सुरक्षामा खटिएका प्रहरी अधिकृत तथा जवानहरूसँग परिचयात्मक बैठक गर्नुका साथै सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो। उहाँले विमानस्थलको संवेदनशीलता र देशको प्रमुख प्रवेशद्वारको रूपमा यसको महत्त्वलाई ध्यानमा राख्दै प्रत्येक सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक र कुशलताका साथ निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले सुरक्षामा कुनै पनि प्रकारको लापरवाही सह्य नहुने बताउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो। विमानस्थलको सुरक्षा व्यवस्थालाई विश्वसनीय र व्यवस्थित बनाउन अन्य सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सेवा प्रवाहमा गुणस्तर कायम राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमको क्रममा सुरक्षामा खटिएका प्रहरी अधिकारी तथा जवानहरूले आफ्नो जिम्मेवारी प्रभावकारी बनाउन प्रतिवद्धता जनाए। एसएसपी राठौरको निर्देशनपछि कार्यक्रम सम्पन्न गरिएको थियो।


