एसएसपी विश्व अधिकारीको निर्देशन: शान्ति सुरक्षाका लागि चौबिसै घण्टा सक्रिय रहन आग्रह
काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जिल्लावासीलाई शान्ति सुरक्षाको अनुभूति गराउन प्रहरी कर्मचारीहरूलाई चौबिसै घण्टा सक्रिय रहन निर्देशन दिएका छन्।
नेपाल प्रहरीको प्रमुख जिम्मेवारी कानुनी शासनको संरक्षण गर्दै अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउनु रहेको उल्लेख गर्दै उनले प्रहरी संगठनको भूमिका अझ प्रभावकारी बनाउन निरन्तर क्रियाशील रहनुपर्ने बताएका छन्।
उनका अनुसार काठमाडौं प्रहरी परिसर प्रहरी सेवाग्राहीहरूको कानुनी अपेक्षा पूरा गर्न स्थापित संस्था भएकाले यहाँ आउने प्रत्येक नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्नुपर्ने आवश्यकता छ। “We Count Every Contact” भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै नागरिकका गुनासा, समस्या र कानुनी आवश्यकताहरूलाई तत्काल सम्बोधन गर्न प्रहरी कर्मचारीहरू संवेदनशील हुनुपर्ने उनको भनाइ छ।
एसएसपी अधिकारीले सुरक्षाका लागि टेक्नोलोजीको प्रयोग बढाउँदै अपराध रोकथामका लागि निगरानी प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। साथै, अपराध अनुसन्धानलाई तथ्य, प्रमाण र वैज्ञानिक विधिको आधारमा अघि बढाउनु पर्नेमा उनले जोड दिए।
उनले प्रहरी संगठनको विश्वसनीयता अझ मजबुत बनाउन समुदाय प्रहरी साझेदारीलाई बलियो बनाउनु पर्ने उल्लेख गर्दै प्रहरी र जनताबीच आपसी विश्वासको वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए। साथै, प्रहरी संगठनभित्र अनुशासन, जवाफदेहिता र सेवा भावनाको विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।


