काठमाडौं प्रहरी प्रमुखमा बिश्व अधिकारी : अपराध नियन्त्रण र पारदर्शितामा कडा कदम।
काठमाडौं — नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) बिश्व अधिकारी काठमाडौं जिल्ला प्रहरी प्रमुखमा नियुक्त भएसँगै राजधानीमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नयाँ आशा देखिएको छ। जनताको मनमा बस्न सफल भइसकेका बिश्व अधिकारी समुदायमैत्री प्रहरी अधिकृतका रूपमा चिनिन्छन्। गृह मन्त्रालयको निर्णयअनुसार माघ १५ गते उनले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखको रूपमा कार्यभार सम्हालेका हुन्।
बिश्व अधिकारीले लामो समयदेखि ‘प्रहरी मेरो साथी’ जस्ता अभियानमार्फत जनतामा प्रहरी प्रतिको विश्वास बढाउन महत्वपूर्ण योगदान पुर्याएका छन्। काठमाडौं प्रमुखको जिम्मेवारी सम्हालेपछि उनले आफ्नो कार्यशैली अझ प्रभावकारी बनाउँदै विभिन्न ठूला कदम चालेका छन्।
उहाँले कार्यभार सम्हालेपछि पहिलो निर्णयकै रूपमा अपिलराज बोहोरालाई नयाँ प्रहरी प्रवक्ताको रूपमा तोक्दै प्रहरी–मिडिया समन्वयलाई अझ पारदर्शी बनाएका छन्। सञ्चार माध्यमसँग नियमित संवाद गरी प्रहरीले गरेका काम तत्काल सार्वजनिक गरिने व्यवस्था मिलाइएको छ।
अधिकारीले लागुऔषध तस्करी, ठूला चोरी र संगठित गिरोह नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेका छन्। काठमाडौंका विभिन्न क्षेत्रमा सक्रिय आपराधिक समूहलाई नियन्त्रणमा लिन उनले बिशेष अपरेशन सुरु गराएका छन्। यसै क्रममा चोरीका मोटरसाइकल फेला पार्ने, ठूला सुन तस्कर समात्ने र लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने कार्यमा उल्लेखनीय सफलता मिलेको छ।
उनले राजधानीमा बढ्दो सडक जाम र ट्राफिक अव्यवस्थालाई पनि प्राथमिकतामा राख्दै ट्राफिक प्रहरीलाई थप सक्रिय पारेका छन्। ट्राफिक व्यवस्थापन, रात्रीकालीन सुरक्षा, हुलदंगा नियन्त्रण र भिड व्यवस्थापनमा आफ्नो टोलीलाई थप दक्ष र जिम्मेवार बनाउन निर्देशन दिएका छन्। यद्यपि ट्राफिक व्यवस्थापनको काम ट्राफिक महाशाखाले नै गर्ने भए पनि प्रमुखको रूपमा उनले समन्वय र नीति निर्देशनमा नेतृत्व गर्दै आएका छन्।
एसएसपी बिश्व अधिकारीले प्रहरीमाथि हुने आक्रमणलाई कुनै हालतमा छुट नदिइने चेतावनी दिएका छन्। थमेलमा भएको एक घटनामा विद्यार्थी नेताद्वारा प्रहरीमाथि आक्रमण भएपछि उनले राजनीतिक दबाब नमानी कानुनी प्रक्रिया अघि बढाउने अडान सार्वजनिक गरेका छन्। यसले प्रहरी संगठनको निष्पक्षता र कठोर कारबाहीको सन्देश दिएको छ।
मानव बेचबिखन, घरेलु हिंसा, साइबर अपराधजस्ता संवेदनशील मुद्दामा पनि उनले अनुसन्धानलाई चुस्त बनाउन पहल थालेका छन्। विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम, समुदायसँग साक्षात्कार र विद्यालयस्तरका अभियानमार्फत अपराध न्यूनीकरणमा योगदान पुर्याउँदै आएका छन्।
बिश्व अधिकारीको नेतृत्वमा काठमाडौंमा अहिले शान्ति सुरक्षाको अवस्था थप मजबुत हुँदै गएको प्रहरी स्रोतहरूको दाबी छ। आम नागरिकले प्रहरी संगठनप्रति भरोसा गर्न थालेका छन्। राजधानीका थुप्रै ठाउँमा ‘प्रहरी मेरो साथी’ अभियान अझै सक्रिय पारिएको छ।


