धरान, काठमाडौं , धनगढीको मात्र होइन, देशकै मुहार फेर्न तिनै जना एक भएर अब राष्ट्रिय राजनीतिमा आउन जरुरी।
काठमाडौं- “केही फरक गर्छु”, “साँचिकै परिवर्तन सम्भव छ” भन्ने अठोट, इमानदारिता र कठोर परिश्रमको एक मिसाल हुन्—हर्कराज साम्पाङ राई। धरानको मेयर बनेदेखि नै उनले देखाएको कर्म र सोचले न केवल धरानलाई तर पुरै मुलुकलाई झकझक्याएको छ। राजनीति भ्रष्टाचार, स्वार्थ, र दलगत घेराबन्दीमा फसेको निराश मुलुकमा साम्पाङजस्ता कर्मशील, निडर र सत्य बोल्न हिचकिचाउँदैनन् भन्ने नेतृत्वको खाँचो दिन प्रतिदिन बढ्दो छ।
एकजना साधारण नागरिकका रूपमा सुरु भएको उनको यात्रा, जनताको अपार विश्वासमा टेकेर आज यस्तो स्थानमा पुगेको छ जहाँ उनलाई अब स्थानीय होइन, राष्ट्रिय नेतृत्वमा देख्न जनताको आवाज बलियो बन्दै गएको छ। धरानको जनताले मेयरमा सही व्यक्ति छानेपछि विकास र परिवर्तन सम्भव हुन्छ भन्ने उदाहरण नै राखिदिए।
हर्क साम्पाङले “श्रमदान”लाई अभियानको रूपमा अघि सारे। उनले आफैँ ढुंगा बोकेर नाली, सडक र सार्वजनिक संरचनाहरू बनाउने कार्यमा हात हालेर जनतामा ‘काम गर्ने नेता’को स्पष्ट छवि बनाएका छन्। उनका विरोधीहरू शुरुवातमा उनलाई ‘ढुंगा बोकेका मेयर’ भन्दै व्यङ्ग्य गर्थे। तर, आज त्यही काम गर्ने शैली र इमानले उनलाई देशभरका जनताको मन जिताएको छ। आलोचकहरू समेत उनको बाटो पछ्याउन बाध्य भएका छन्।
नेतृत्व भनेको कुर्सीमा बस्नु मात्र होइन, जिम्मेवारी बहन गर्नु हो। साम्पाङले कुनै ठूलो बजेट नहुँदा पनि पारदर्शिता र जनसहभागिताको भरमा विकास सम्भव छ भन्ने सन्देश दिएका छन्। बिदेशी ऋण, अनावश्यक कमिशन, र ठेक्का काण्डको विरोधमा उनी स्पष्ट छन्। “म कमाउन आएको होइन, देश बनाउन आएको हुँ” भन्ने उनको भनाइले धेरैलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ।
आज आम जनता भनिरहेका छन्—पूर्वका हर्क साम्पाङ, पश्चिमका गोपाल हमाल, काठमाडौँका बालेन शाह—यी तीन जना स्वतन्त्र र निर्भीक नेतृत्व अब एउटै राष्ट्रिय राजनीतिमा आउनु पर्दछ। यो त्रिकोणीय शक्ति यदि एउटै साझा उद्देश्यमा संगठित भयो भने, पुराना दलहरूले थिचेको राष्ट्रको मुहार साँच्चिकै फेरिन सक्छ।
बालेन शाह स्वयम् केन्द्रिय राजनीति, शक्ति सन्तुलन र भ्रष्टाचारको विरुद्धमा खुलेर उभिएका छन्। गोपाल हमाल पनि पश्चिममा जनताको सेवामा समर्पित, दलनिरपेक्ष नेतृत्वका रूपमा स्थापित भइसकेका छन्। हर्क साम्पाङ, बालेन शाह, र गोपाल हमाल जस्ता इमानदार र कर्मठ व्यक्तित्वहरू राष्ट्रिय स्तरको साझा अभियानमा उभिए, जनताले प्रत्यक्ष वैकल्पिक राजनीतिक शक्ति देख्न पाउनेछन।
हर्क साम्पाङको इमान र संघर्षले अहिले नै पुराना दलका नेताहरूको मुटुको धड्कन बढाएको छ। उनीहरू कहिले मुद्दा त कहिले आरोप लगाएर हर्कलाई रोक्ने प्रयासमा छन्। तर सत्य, जनताको साथ र इमान कहिल्यै हराउँदैन।
अब समय आइसकेको छ—हर्क साम्पाङले धरानमा गरेका उत्कृष्ट कार्यलाई राष्ट्रिय तहमा विस्तार गर्ने। परिवर्तनको सुरुवात स्थानीय तहबाट भए पनि त्यसलाई संस्थागत गर्न राष्ट्रिय नेतृत्व आवश्यक छ। त्यसैले, अब हर्क साम्पाङले राष्ट्रिय राजनीतिमा कदम चाल्न जरुरी भइसकेको छ। जनताको चाहना यही छ—अब राजनीतिमा कुशल, इमानदार र कर्मशील अनुहारहरू जोड्दै हर्क, गोपाल, बालेन मिलेर अघि बढे मात्र निस्वार्थ राजनिती हुन सक्छ । नत्र भ्रष्ट हरुकै रजगज चलिरहन सक्छ।


