समाजसेवा र सिद्धान्तमा प्रतिबद्ध, धादिङ ताल्तीका बिष्णु थापाको जनतामा बढ्दो लोकप्रियता।
धादिङ, बेनिघाट रोराङ–२ — २२ वर्षसम्म स्कुलमा अध्यापन गरी आफ्नो क्षेत्रमा शिक्षाको विकासमा योगदान पुर्याएका बिष्णु थापा अहिले धादिङ जिल्लामा नेकपा (एमाले) को महत्वपूर्ण नेतृत्वकर्ता हुन्। २०४८ सालमा एमाले पार्टीमा प्रवेश गरी संगठनात्मक रूपमा क्रियाशील हुँदै आएका थापाले गाउँदेखि जिल्ला तहसम्म विभिन्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
गाउँ विकास समिति (गा.वि.स.) को समयमा पार्टीको गाउँ कमिटी अध्यक्ष र पालिका निर्माण भएपछि उपाध्यक्षको रूपमा एक कार्यकाल नेतृत्व गर्ने जिम्मेवारी सम्हालेका थापा हाल नेकपा (एमाले) धादिङ जिल्ला कमिटी सदस्यको रूपमा राजनीतिक गतिविधिमा संलग्न छन्।
स्थानिय जनताको गुनासो चाँडो सुन्ने र समस्या समाधानमा अगाडि आउने थापाले आफ्नो कर्मशीलता र लगनशीलताले जनतामाझ व्यापक विश्वास र लोकप्रियता हासिल गरेका छन्। आर्थिक र सामाजिक रूपमा सहयोगी रहेको समेत स्थानियहरूले बताएका छन्।
२०७९ सालको स्थानीय तहको चुनावमा गठबन्धनको साझा उम्मेदवारसँग प्रतिस्पर्धा गर्दा थोरै मतान्तरले पराजय भोगेका थापाले हारलाई निराशा मान्नुको सट्टा आफ्नो समुदायका समस्यामा अझै सक्रिय भई जनताको सेवा गर्दै आएका छन्। यही प्रतिबद्धता र सिद्धान्तका कारण उनलाई सबै समुदायले माया गर्ने गरेका छन्।
बेनिघाट रोराङ–२ मा आगामी निर्वाचनमा नेकपा (एमाले) बाट टिकट पाएमा सहजै विजयी हुने सम्भावना प्रबल रहेको छ। थापा पद र शक्ति भन्दा पनि सिद्धान्त र जनसेवामा विश्वास राख्ने व्यक्तित्व हुन् जसले जनताको विश्वास जित्न सफल भएका छन्।


