रास्वपा प्रवक्ता उत्सब अर्याल: युवापुस्तासहित सकारात्मक परिवर्तनका अभियन्ता
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका प्रवक्ता उत्सब अर्याल मकवानपुरमा जन्मिएका एक सक्रिय, स्पष्ट दृष्टिकोण भएका र प्रतिबद्ध युवा नेता हुन्। मकवानपुर मात्र नभई समग्र देशमा दीगो र सकारात्मक परिवर्तन आवश्यक छ भन्ने ठाम विश्वासका साथ उनी रास्वपाको स्थापना कालदेखि नै निरन्तर राजनीतिक यात्रामा होमिएका छन्। पार्टीसँगको प्रारम्भिक संलग्नतादेखि नै उनले आफ्नो इमानदार छवि, सरल स्वभाव र निष्कपट उद्देश्यका कारण संगठनभित्र र बाहिर दुवै क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन्।
अर्यालको बाल्यकाल साधारण ग्रामीण परिवेशमा बितेको हो। स्थानीय समाजका गतिविधिहरूमा सहभागी हुँदै उनले सानैदेखि सामाजिक उत्तरदायित्वबोध गरेका थिए। विद्यालय जीवनदेखि नै उनी विभिन्न सचेतनामूलक र सेवा–भावनासँग सम्बन्धित कार्यक्रममा सक्रिय रहँदै आएका छन्। यसै कारण, आज उनी स्थानीय समुदायबीच विश्वासिलो व्यक्तित्वका रूपमा स्थापित भएका छन्।
मकवानपुरका जनताको समस्या बुझ्ने, प्रत्यक्ष संवादमार्फत समाधानका उपाय खोज्ने, र युवालाई अग्रभागमा ल्याउने उनको बानीले उनलाई संगठनभित्र मात्र होइन, आम नागरिकबीच पनि लोकप्रिय बनाएको छ। उनी विश्वास गर्छन। युवा पुस्ताले नेतृत्व लिँदा मात्र पुरानो शैलीको राजनीति बदल्न सकिन्छ। यही सोचका कारण उनी पार्टीका हरेक छलफल, नीति निर्माण बैठक, र जनस्तरसम्म पुग्ने अभियानमा सक्रिय रूपमा उपस्थित रहन्छन्।
राजनीतिक गतिविधि मात्र नभई सामाजिक र शैक्षिक क्षेत्रमा पनि उनले उल्लेखनीय योगदान दिएका छन्। हाल उनी विभिन्न शिक्षामूलक कार्यक्रम सञ्चालन गर्दै ग्रामीण क्षेत्रका बालबालिका र युवालाई अवसर र सीप प्रदान गर्न लागिपरेका छन्। यसका साथै, स्वास्थ्य, सरसफाइ, र सामाजिक सचेतना सम्बन्धी अभियानमा पनि उनको संलग्नता देखिन्छ।
पुराना दलहरूको जटिल आन्तरिक राजनीति र पुरानो ढर्राको शैलीबाट निराश जनताले नयाँ विकल्प खोजिरहेको सन्दर्भमा रास्वपाले उत्सबजस्ता युवालाई अघि सार्ने कि नसार्ने भन्ने प्रश्न चासोको विषय बनेको छ। पार्टीले पुराना दलभन्दा फरक छवि कायम गर्नका लागि सक्षम र सफा छविका युवालाई नेतृत्वमा ल्याउनुपर्ने बाध्यता छ भन्ने कुरा राजनीतिक विश्लेषकहरू बताउँछन्। तर, त्यो कदम २०८४ सालको निर्वाचनमा मात्र स्पष्ट हुने देखिन्छ।
युवापुस्तासहित समाजको भरोसा जित्दै गैरहेका अर्याललाई स्थानीय नेतृत्व लिन तयार हुनुपर्ने सुझाव केही बुद्धिजीवीहरूले दिएका छन्। एक स्थानीय बासिन्दाले भने, “उत्सबजस्तो नेता आयो भने सोच बदलिन्छ, भोट बदलिन्छ। अब परिवर्तन चाहनेहरूले यस्तै नेताहरू देख्न चाहेका छन्।” अर्यालका नजिकका साथीहरूका अनुसार, उनी जिम्मेवारी आउँदा पछि हट्ने स्वभावका होइनन्, बरु अवसरलाई जनहितका काममा बदल्ने दृढ निश्चय भएका व्यक्ति हुन्।
आजको राजनीतिक परिवेशमा युवापुस्ताको भूमिकाबारे धेरै कुरा गरिन्छ तर व्यवहारमा कमै देखिन्छ। उत्सब अर्याल जस्ता नेताले त्यसलाई व्यवहारमै उतार्न सक्ने विश्वास जनतामा पलाउँदै गएको छ। चाहे पार्टीको औपचारिक निर्णय जे भए पनि, समाजमा उनी राजनीतिक मात्र नभई सकारात्मक परिवर्तनका सशक्त प्रतिनिधि बन्न सक्ने सम्भावना बढ्दो छ।


