काठमाडौं- पछिल्ला दिनहरूमा “कोटेश्वरमा ट्राफिक प्रहरीको आर्थिक आतंक” भन्ने भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर स्थानीय व्यापारी र यातायात व्यवसायीहरूले यस भिडियो सत्यतामा आधारित नभएको र पूर्वनियोजित ढंगले तयार गरिएको बताएका छन्।
कोटेश्वरका एक व्यापारीका अनुसार, केही दिनअघि नो–पार्किङ क्षेत्रमा अरनिको यातायातका गाडीहरू पार्किङ गर्दा दुर्घटना भएको थियो। सो क्रममा एक स्कुटर चालकको मृत्यु भएपछि ट्राफिक प्रहरीले नियम कडाइका साथ लागु गर्न थालेको हो।
भाइरल भिडियोमा देखिएका केही दाबीहरूमा ट्राफिक प्रहरीले हरेक गाडीबाट १०० देखि ५०० रुपैयाँ असुल्ने आरोप लगाइएको छ। तर स्थानीय स्रोतका अनुसार, यस्ता आरोप सत्य होइनन् र केवल ट्राफिक प्रहरीको छवि बिगार्ने प्रयास भएको देखिन्छ। एक व्यापारीले भने, “सडकमा दिन-रात घाम-पानी नभनी खटिने प्रहरीमाथि गलत आरोप लगाएर जनतामा भ्रम फैलाउने प्रयास गरिएको देखियो।”
यातायात व्यवसायीहरूले पनि भिडियोमा प्रस्तुत गरिएको कुरा वास्तविकता नभएको बताए। “हामी दशकौंदेखि यस क्षेत्रमा व्यवसाय गर्दै आएका छौं। ट्राफिकले विना कारण कुनै समस्या दिएको अनुभव छैन। भिडियोमा देखाइएको कुरा सत्य होइन,” उनीहरूले भने।
भिडियो भाईरल भए पछि उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
स्थानीय व्यापारी र व्यवसायीहरूले भने, ट्राफिक प्रहरीमाथि लागेको ‘आर्थिक आतंक’ को आरोप असत्य र नियोजित भएको दाबी गर्दै ट्राफिक प्रहरीको मेहनतको कदर गर्न सबैसँग अपिल गरेका छन्।


