काठमाडौं- आगामी मंसिर ६ गते, नेपाल महिला रेस्लिङ फाउन्डेशनले विश्वकै सबैभन्दा अग्लो ताल तिलिचो (उचाइ ४,९१९ मिटर) मा एक ऐतिहासिक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ।
यस प्रतियोगितामा अमेरिका, अष्ट्रेलिया, क्यानडा, लन्डन, जापान, पाकिस्तान, सिङ्गापुर र नेपालका चर्चित महिला खेलाडीहरू सहभागी हुने भएका छन्। कार्यक्रमको उद्देश्य नेपालमा महिला खेलकुदको प्रतिष्ठा बढाउनु र पर्यटनसँग खेलकुदलाई जोडेर विश्वसामु नेपाललाई चिनाउनु रहेको आयोजकले जनाएको छ।
नेपाल महिला रेस्लिङ फाउन्डेशनकी अध्यक्ष भगवती खड्का युनिकका अनुसार यो प्रतियोगिता तिलिचो तालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय स्तरको रेस्लिङ इभेन्ट हो। उहाँका अनुसार यस कार्यक्रमले नेपाललाई विश्व खेलकुद र साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्नेछ।
आयोजक संस्थाले सबैलाई यो ऐतिहासिक क्षणमा साथ, समर्थन र माया प्रदान गर्न आग्रह गरेको छ।


