तिहारको रमाइलो माहोलसँगै मुस्ताङ अहिले आन्तरिक र बाह्य पर्यटकले खचाखच भरिएको छ । घरायसी बिदा र पर्वको मौका पारेर घुम्न निस्किएका आन्तरिक पर्यटकको संख्या एक्कासि बढेपछि जोमसोमदेखि मार्फासम्मका होटलहरूमा कोठा अभाव देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार अहिले जिल्लाभर आन्तरिक पर्यटकको चाप अत्यधिक रहेको छ । पर्यटकहरूको भीडका कारण होटल व्यवसायीहरूलाई समेत व्यवस्थापन गर्न हम्मे परेको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाका अनुसार बिदाको समय परेकाले घुम्न आउनेहरूको संख्या ह्वात्तै बढेको हो ।
उनले भनिन्, ‘केही दिनदेखि सवारीसाधनको चाप देखिएको छ । होटलहरू भरिएका छन्, कतिपयलाई त बास नपाएर म्याग्दी फर्किनुपरेको छ ।’
बेनी–जोमसोम–कोरोला सडकखण्डमा समेत शुक्रबार दिनभर सवारीसाधनको बाक्लो आवागमनका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभीर र मुस्ताङको घरपझोङ गाउँपालिका–४ घ्हैकु भीर आसपास जामको दृश्य देखिएको थियो ।
डीएसपी लामाका अनुसार सडकमा ठूला समस्या नभए पनि यात्रुको भीड र सवारीसाधनको अत्यधिक चापका कारण केही समय ट्राफिक जाम भएको हो ।
‘सडकमा अरू समस्या छैन, चापका कारण ट्राफिक जाम देखिएको हो,’ — प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामा
तिहारको अवसरमा मुस्ताङ घुम्न आउने आन्तरिक पर्यटकको चापले जिल्ला भित्रका होटलहरू भरिएका छन् र सवारीसाधनको भीडले स्थानीय यातायातमा समेत असर पारेको छ ।


