काठमाडौं, गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा कीर्तिमान कायम गर्ने लक्ष्यसहित मनाङ जिल्लाको तिलिचो तालस्थित मैदानमा अन्तर्राष्ट्रिय कुस्ती च्याम्पियनसिप हुने भएको छ। विश्वकै उच्च स्थानमा कुस्ती प्रतियोगिता गर्ने उद्देश्यसहित ‘अल राउण्ड ट्रेक एन्ड एक्सपिडिसन’ले यो कार्यक्रम आयोजना गर्न लागेको हो।
समुद्र सतहदेखि ४९१९ मिटर उचाइमा आयोजना हुन लागेको यो प्रतियोगिता विश्वकै अग्लो स्थानमा खेलिएको कुस्ती प्रतियोगिता बन्नेछ। मंसिर ३ गते नेपाली टोली मनाङ प्रस्थान गर्नेछ भने खेल मंसिर ६ (नोभेम्बर २२) मा हुने रेस्लर भगवती खड्काले बताउनु भयो
महिला र पुरुष दुबै तर्फ २०० केजी तौलसम्मका खेलाडीबीच प्रतिस्पर्धा हुने प्रतियोगितामा नेपालसहित विभिन्न सात देशका १२ खेलाडी सहभागी हुनेछन्। सहभागी खेलाडीमा नेपालकी भगवती खड्का (Unika), अमेरिका बाट जेबी कूल, होलिडेट र माइकल सिचोभिज, भारतका दिव्य आले, पाकिस्तानका कोवु ब्राण्डन र मुस्तफा अली खान, सिंगापुरकी लेडी सरहा, नेपालका अस्मिता सुनुवार (Jureli), हिक्मत थपलिया, भरत बहादुर बिशुरल (Himalayan Tiger) र सुरज चौलागाईं (Shady) रहेका छन्।
खुला मैदानमा हुने यो प्रतियोगिता हेर्न दर्शकहरूको उल्लेख्य सहभागिता हुने आयोजकको दाबी छ। कुस्ती एक अनुशासन र आत्मसंयममा आधारित खेल हो, जहाँ दुई पहलवानबीच गोलाकार ‘अखाडा’मा प्रतिस्पर्धा हुन्छ। माटोले भरिएको अखाडा केवल खेल मैदान नभई संस्कृति र परम्पराको प्रतीक पनि हो। कुस्ती प्रशिक्षकलाई ‘उस्ताद’ भनिन्छ र खेलाडीलाई ‘पहलवान’ भनिन्छ। यो खेलले निष्पक्ष प्रतिस्पर्धा, रणनीति र अनुशासनको उत्कृष्ट उदाहरण प्रस्तुत गर्छ।
मनाङको अन्नपूर्ण क्षेत्रमा अवस्थित तिलिचो ताल विश्वकै उच्च उचाइमा रहेको तालहरूमध्ये एक हो। समुद्र सतहदेखि ४९१९ मिटर उचाइमा फैलिएको यो ताल करिब ४ किलोमिटर लम्बाइ, १.२ किलोमिटर चौडाइ र २०० मिटर गहिराइको छ।
सांस्कृतिक मूल्यमान्यता र प्राकृतिक सौन्दर्यले सम्पन्न तिलिचो क्षेत्रमा हुन लागेको यो अन्तर्राष्ट्रिय कुस्ती च्याम्पियनसिपले खेलकुद सँगै नेपालको पर्यटन र सांस्कृतिक पहिचानलाई पनि नयाँ उचाइमा पुर्याउने छ।


