काठमाडौं, नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–४ स्थित श्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। चिसो मौसम बढ्दै गएसँगै विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा तथा नियमित पठनपाठनमा सहजता ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
नेपाली कम्युनिस्ट पार्टीका युवा नेता तथा समाजसेवी रुद्र ढुंगेलले विद्यालयमै पुगेर १३५ थान न्यानो कपडा विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा वितरण गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ। आर्थिक रूपमा विपन्न तथा सामान्य परिवारका विद्यार्थीहरूलाई प्राथमिकतामा राखी न्यानो कपडा वितरण गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले यस्ता सामाजिक सहयोग कार्यक्रमले विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्। साथै समुदाय र विद्यालयबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमप्रति विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूले खुशी व्यक्त गर्दै समाजसेवी ढुंगेलको सहयोगी भावनाको प्रशंसा गरेका छन्।


