काठमाडौँ , काठमाडौँको कुलेश्वर फलफूल मण्डीमार्फत चीन र भारततर्फ अवैध रूपमा पैसा पठाउने हुण्डी कारोबार तीव्र रूपमा बढ्दै गएको पाइएको छ। पछिल्ला दिनहरूमा सो क्षेत्रका कारोबारीहरू छरपस्ट रूपमा कार्यरत रहेको छ।
गम्भीर रूपमा बढ्दै गएको यस अवैध वित्तीय क्रियाकलापबारे सम्बन्धित निकाय भने मौन बसेको आरोप स्थानीय व्यापारीहरूले उठाउन थालेका छन्। दैनिक रूपमा हुण्डी कारोबार विस्तार हुँदै जानुले देशको अर्थतन्त्र, राजस्व प्रणाली तथा औपचारिक बैंकिङ चक्रलाई प्रत्यक्ष चुनौती दिइरहेको विज्ञहरूको भनाइ छ।
अवैध रूपमा विदेशमा पैसा पठाउने तथा प्राप्त गर्ने यस्ता गतिविधिले राज्यको वित्तीय सुरक्षामा जोखिम उत्पन्न गरेको भन्दै कडाइका साथ कारबाही गर्नुपर्ने माग बढ्दै गएको छ। तर, अहिलेसम्म कुनै ठोस कदम नचालिएको कारण परिस्थितिलाई हुण्डी कारोबारीहरूले खुला चुनौतीको रूपमा प्रयोग गरिरहेको देखिन्छ।
यसैबीच, हुण्डी कारोबारीहरूले पछिल्लो समय विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरूलाई प्रयोग गर्दै कारोबार गर्दै आएको तथ्य पनि खुल्न आएको छ। सहकारीको आवरणमा हुने यस्ता अवैध आर्थिक गतिविधिले वित्तीय प्रणालीलाई अझ गम्भीर जोखिममा पार्ने भएकाले बेलैमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनु अत्यन्त जरुरी देखिन्छ।


