काठमाडौँ, नेकपा (एमाले) को महाधिवेशनमा रामकुमारी झाँक्रीले अपेक्षाभन्दा धेरै मत ल्याउँदै सबैको ध्यान तानेकी छन्। समाजवादी पार्टी परित्याग गरी महाधिवेशनको मुखमै एमाले प्रवेश गरेकी झाँक्रीले १,९११ मत प्राप्त गरेकी हुन्।
महाधिवेशनमा कुल २,२६३ मतदाता रहेकोमा झाँक्रीलाई जम्मा ३५२ जनाले मात्र मत दिएका छैनन्। यस परिणामले उनलाई महाधिवेशनका लोकप्रिय उम्मेदवारमध्ये एकको रूपमा स्थापित गरेको छ।
झाँक्री केही वर्षअघि सम्म एमालेभित्र चर्चित नेतृका रूपमा परिचित थिइन्। तर माधवकुमार नेपालसँगै समाजवादी पार्टी गठनतर्फ लागेपछि एमालेका नेता–कार्यकर्ता उनीसँग असन्तुष्ट बनेका थिए। पछि माधव नेपाल प्रचण्डसँग सहकार्यतर्फ लागेपछि झाँक्री भने आफ्नो पुरानै पार्टी एमाले फर्किएकी थिइन्।
एमालेमा पुनः प्रवेशपछि उनलाई पार्टीभित्र स्वीकार गरिन्छ कि गरिँदैन भन्ने विषयमा व्यापक चासो थियो। तर महाधिवेशनमा प्राप्त उल्लेख्य मतले झाँक्रीप्रति पार्टी पंक्ति र कार्यकर्ताको विश्वास अझै कायम रहेको सन्देश दिएको छ। युवाहरूले विशेष रूपमा रुचाउने नेतृका रूपमा परिचित झाँक्रीको क्रेज पार्टीभित्र मात्र होइन, पार्टी बाहिर पनि उत्तिकै रहेको देखिन्छ।


