काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता तथा केन्द्रिय RAT विभागका कार्यबाहक प्रमुख बैकुण्ठ थापा (आशिष) यतिखेर आफ्नो निर्वाचन क्षेत्रमा पार्टीलाई कसरी जित दिलाउन सकिन्छ भन्ने विषयमा सक्रिय दौडधुपमा जुटेका छन्।
धेरै नेता–कार्यकर्ता पदको आकांक्षामा केन्द्रित भइरहेका बेला थापा भने व्यक्तिगत स्वार्थभन्दा पार्टीको समग्र जितलाई प्राथमिकतामा राख्दै अगाडि बढिरहेका छन्। थापाले पार्टीका पदाधिकारी तथा नेता–कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गर्दै रास्वपाका नेताहरूलाई हार्ने छुट नरहेको स्पष्ट पारेका छन्।
जसले टिकट पाए पनि सबै मिलेर जिताउन लाग्नुपर्ने, जनताको चाहना र भावनाको कदर गर्दै राजनीतिक यात्रामा अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।
युवामाझ लोकप्रिय बैकुण्ठ थापा (आशिष) लाई धेरैले आफैं चुनाव लड्न सुझाव दिए पनि उनले हाल चुनावमा सहभागी नहुने स्पष्ट पारेका छन्।
“म एक स्थानमा मात्र जित निकाल्ने सोचमा सीमित छैन, सबै स्थानमा रास्वपाले जित्नुपर्छ,” भन्दै उनले आफू पार्टीका उम्मेदवारहरूलाई जिताउन केन्द्रित रहने बताएका छन्।
पार्टी स्थापनाकालदेखि नै नेतृत्वसँग नजिक रहेका थापा व्यक्तिगत लाभभन्दा सामाजिक कार्यमा बढी सक्रिय देखिन्छन्। उनलाई नजिकबाट चिन्नेहरूका अनुसार उनी सहयोगी, सरल र निस्वार्थ स्वभावका व्यक्ति हुन्। कहिल्यै व्यक्तिगत फाइदाका लागि केही नमाग्ने थापा पार्टी निर्माणका लागि दिन–रात मेहनत गरिरहेका छन्।
मकवानपुर–२ मा बसोबास गर्ने थापाले यदि रास्वपाका उम्मेदवारलाई जिताउन नसक्ने हो भने त्यसले पार्टीलाई मात्र होइन, आफ्नो राजनीतिक यात्रालाई समेत असर पार्ने ठानेका छन्। यही कारण मकवानपुरमा रास्वपाको चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको देखिन्छ।
यसैक्रममा बैकुण्ठ थापा (आशिष) अहिले गाउँ–गाउँ, टोल–टोलमा पुगेर पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। स्थानीय जनताका समस्या, गुनासा र अपेक्षालाई नजिकबाट सुन्दै उनले पार्टीप्रति जनविश्वास मजबुत बनाउने प्रयास गरिरहेका छन्।
थापाले विशेषगरी युवाहरूलाई राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्दै आएका छन्। पुरानो सोच, स्वार्थकेन्द्रित राजनीति र अवसरवादको अन्त्य गर्न युवाहरू एकजुट हुनुपर्ने बताउँदै उनले राजनीतिलाई सेवा, त्याग र जिम्मेवारीको माध्यमका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।
पार्टीभित्र एकता, अनुशासन र पारदर्शिता कायम राख्नुपर्नेमा जोड दिँदै थापाले आन्तरिक मतभेदलाई चुनावी परिणाममा असर पर्न नदिन सबै सचेत हुनुपर्ने धारणा राखेका छन्। व्यक्तिगत महत्वाकांक्षाभन्दा पार्टीको लक्ष्य र जनताको भरोसा ठूलो हुने भन्दै उनले सबै तहका नेता–कार्यकर्तालाई जिम्मेवार भएर अघि बढ्न आग्रह गरेका छन्।
मकवानपुरलाई रास्वपाको बलियो आधार क्षेत्र बनाउने लक्ष्यसहित बैकुण्ठ थापा (आशिष) संगठन विस्तार, कार्यकर्ता परिचालन र चुनावी रणनीति निर्माणमा निरन्तर सक्रिय देखिन्छन्। स्थानीय स्तरमा पार्टी संरचना मजबुत बन्दै गएको र जनसमर्थन बढ्दै गएको संकेत देखिन थालेपछि रास्वपाभित्र उत्साह थपिएको छ।
राजनीतिमा इमानदारी, जवाफदेहिता र जनउत्तरदायित्व अनिवार्य रहेको मान्यता राख्ने बैकुण्ठ थापा (आशिष) को सक्रियता र निस्वार्थ भूमिकाले मकवानपुरमा मात्र होइन, समग्र जिल्लामै रास्वपाको चुनावी माहोल थप तातिँदै गएको देखिन्छ।


