काठमा डौं, मुस्ताङ जिल्लाका सभापति सुदेश गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रका युवा नेता हुन्। उनी Gen-Z पुस्ताभित्रका नेतामध्ये एक हुन्, जसले २५ वर्षको कम उमेरमै राजनीतिमा प्रवेश गरेका थिए।
२०७९ सालको निर्वाचनमा मुस्ताङजस्तो चुनौतीपूर्ण भौगोलिक जिल्लाबाट उम्मेदवारी दिएर रास्वपाको बीउ रोपेका सुदेश गुरुङ आज त्यही बीउलाई फलीभूत गर्दै पार्टीको माहोल निर्माण गर्न सफल भएका छन्।
सुदेश गुरुङ पार्टी भित्र युवा पुस्तालाई नेतृत्व गर्ने क्षमता भएका नेता मानिन्छन्। उनले स्थानीय तहदेखि प्रदेशसम्म संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनी अहिले समानुपातिकतर्फ आकांक्षी बनेर प्राइमरी भोटिङ प्रक्रियामा पनि सहभागी भएका थिए।
प्रदेशकै आदिवासी–जनजाति क्लस्टरभित्र उनले सबैभन्दा बढी मत ल्याउने युवा उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरेका थिए। तर पछिल्ला राजनीतिक घटनाक्रमका कारण, रास्वपा, बालेन शाह र कुलमान घिसिङबीचको एकतालाई प्राथमिकता दिँदै सुदेश गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। यस निर्णयमा उनले आफ्नो व्यक्तिगत महत्वाकांक्षा भन्दा पार्टी र देशको हितलाई अगाडि राखेका छन्।
सुदेश गुरुङ भन्छन्,“यत्रो ठूलो पार्टीका सभापतिले गर्नुभएको त्यागको अगाडि मेरो त्याग केही होइन। पहिलो कुरा देशको विकास र स्थायीत्व हो। मलाई व्यक्तिगत रूपमा दुख लागेको छैन। पार्टी सभापति रवि लामिछानेले देखाउनुभएको त्यागले हामीलाई सिकायो कि राजनीति भनेको पदको लागि होइन, देश र जनताको लागि त्याग गर्ने काम हो। हाम्रा पार्टीका सबै शीर्ष नेताले जुन बाटो देखाउनु भएको छ, हामी त्यही बाटोमै अघि बढिरहेका छौँ।”
उनले थपे,“राजनीतिमा प्रवेश गर्दा मैले स्पष्ट रूपमा आफूलाई देश र पार्टीको सेवामा समर्पित गर्ने निर्णय गरें। २५ वर्षमै मैले पार्टीको लागि काम गर्न सुरु गरें र अहिले पनि यही सोचलाई निरन्तरता दिँदैछु। मेरो उम्मेदवारी फिर्ता लिने निर्णय व्यक्तिगत स्वार्थको कारण होइन, बरु ठूलो उद्देश्यका लागि गरिएको त्याग हो।”
सुदेश गुरुङको यो कदमलाई युवा पुस्ताको जिम्मेवारी र राष्ट्रप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा हेरिएको छ। उनका समर्थकहरूका अनुसार, यो निर्णयले रास्वपाभित्र एकताको सन्देश पनि पठाएको छ। उनी भविष्यमा पनि पार्टी र देशका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्ध देखिन्छन्।


