काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिबी) अर्याल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–९ बाट उम्मेदवार बन्ने चर्चा सुरु भएको छ। उनको उम्मेदवारीको चर्चासँगै उक्त क्षेत्रमा राजनीतिक सरगर्मी बढेको छ।
अर्याल २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीमार्फत संसद प्रवेश गरेका नेता हुन्। संसदमा पुगेपछि उनले श्रम, रोजगार र सामाजिक सुरक्षासम्बन्धी विषयलाई प्राथमिकतामा राख्दै आवाज उठाउँदै आएका थिए।
पार्टीभित्र संगठन निर्माणमा सक्रिय भूमिका खेलेका उनी हाल रास्वपाका उपसभापति छन्। पार्टी सभापति रवि लामिछाने अनुपस्थित रहँदा उनले कार्यवाहक सभापतिको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन्।
२०७९ माघमा अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। यद्यपि उनको कार्यकाल छोटो रह्यो, वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा, श्रम अधिकारको संरक्षण र सामाजिक सुरक्षा प्रणाली सुधारका विषयमा उनले मन्त्रालयस्तरमा पहल गरेका थिए। नीतिगत सुधारमार्फत समस्या समाधान गर्नुपर्छ भन्ने उनको धारणा रहँदै आएको छ।
काठमाडौं–९ क्षेत्र शहरी व्यवस्थापन, ट्राफिक जाम, फोहोर व्यवस्थापन, पूर्वाधार विकास, शिक्षा र रोजगारीजस्ता समस्याबाट प्रभावित क्षेत्र हो। अर्यालको उम्मेदवारीले यी विषयलाई केन्द्र तहमा नीतिगत रूपमा उठान हुने अपेक्षा स्थानीयवासीले गरेका छन्।
एक स्थानीय नागरिकका अनुसार, यो स्तरको अनुभव र नीतिगत बुझाइ भएको नेता निर्वाचित भए समग्र काठमाडौं–९ को विकासले गति लिन सक्ने विश्वास गरिएको छ।
स्थानीय मतदाताहरूले विगतमा पटक–पटक उही शैलीको राजनीति देखेको भन्दै यसपटक काम गर्ने र नीति बुझ्ने नेतृत्वको खोजी भइरहेको बताएका छन्। उनीहरूका अनुसार अर्यालको उम्मेदवारीले विकल्पको राजनीति प्रस्तुत गरेको छ।
फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा डोलप्रसाद अर्यालको काठमाडौं–९ बाट उम्मेदवारीले राजनीतिक प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ। मतदाताले उनको अनुभव र कार्यशैलीलाई कत्तिको विश्वास गर्छन् भन्ने कुरा आगामी निर्वाचन परिणामले स्पष्ट गर्नेछ।

