काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसपदभापति डिपि अर्यालका सहोदर भाइ तेज अर्याल पार्टी स्थापना कालदेखि नै पार्टीलाई बलियो बनाउने उद्देश्यका साथ निरन्तर खटिँदै आएका छन्। पार्टी निर्माण, संगठन विस्तार र आधार तयार पार्न उनले देखाएको मेहनत र सक्रियता उल्लेखनीय मानिन्छ।
करिब २० वर्ष विदेश बसेर फर्किएका अर्याल अहिले नेपालमै व्यवसाय गर्दै आएका छन्। नेपालमै रहेर आत्मनिर्भर व्यवसाय सञ्चालन गरिरहँदा पनि उनी रास्वपाको संगठनलाई जरा–जरा सम्म बलियो बनाउने अभियानमा निरन्तर दौडधुप गरिरहेका छन्। पद र प्रतिष्ठाभन्दा माथि उठेर पार्टी र देशको भविष्यका लागि काम गर्नु नै उनको मुख्य उद्देश्य रहेको देखिन्छ।
परिवार छोडेर विदेशिनुपर्ने पीडा भोगेका उनले “अब देश बन्नुपर्छ, ताकि कसैले पनि बाध्य भएर विदेश जान नपरोस्” भन्ने दृढ विश्वासका साथ राजनीतिमा सक्रिय भएको बताउँछन्। यही सोचले उनले नयाँ राजनीतिक शक्तिप्रति भरोसा गर्दै दिनरात नभनी खटिरहेको स्पष्ट पारे।
काठमाडौँको कुलेश्वर–१४ मा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले आफू अहिलेसम्म पार्टीको कुनै पनि पदमा नरहेको र पदको कुनै अपेक्षा नराखेको बताए। “मलाई पद चाहिँदैन, मलाई नेपाल बनेको हेर्नुछ,” भन्ने उनको भनाइले कार्यक्रममा उपस्थित धेरैलाई प्रभावित बनायो।
उनको भनाइ सुनेपछि कार्यक्रममा सहभागीहरूबीच “आफ्नै दाइ पार्टीको उच्च पदमा हुँदा पनि पद नचाहने यस्ता ईमान्दार व्यक्ति पनि हुदा रहेछन्” भन्ने प्रतिक्रिया सुनिन्थ्यो।
भेटघाट कार्यक्रममा अन्य नेताहरूले पनि आ–आफ्ना धारणा राखेका थिए भने छलफलको मुख्य केन्द्र आगामी निर्वाचन र पार्टी संगठन सुदृढीकरण नै रहेको थियो।


