गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको हो। उनी ४२ वर्षका थिए।
दार्जीलिङ निवासी नेपाली मूलका तामाङ इन्डियन आइडल सिजन–३ का विजेता हुन्। सन् २००७ मा उनले आफ्नो सशक्त स्वर र आकर्षक व्यक्तित्वमार्फत नेपाली तथा भारतीय दर्शक–श्रोताको व्यापक मन जितेका थिए। इन्डियन आइडलको उपाधिपछि उनी संगीत क्षेत्रका चर्चित नामका रूपमा स्थापित भएका थिए।
पछिल्ला केही वर्षयता तामाङ गायनभन्दा चलचित्र क्षेत्रमा बढी सक्रिय देखिँदै आएका थिए। उनले अभिनय क्षेत्रमा समेत आफूलाई स्थापित गर्ने प्रयास गरेका थिए र हालै बलिउडमा डेब्यूसमेत गरेका थिए। गायन र अभिनयसँगै उनको सरल जीवनशैली र अनुशासित व्यवहारले धेरै युवालाई प्रेरणा दिँदै आएको थियो।

तर सबैका लागि प्रेरणाको स्रोत बनेका तामाङ ४२ वर्षकै उमेरमा अचानक यस संसारबाट बिदा भएका छन्। उनको निधनको कारण कार्डियाक अरेस्ट भएको नजिकका साथी तथा फिल्म निर्माता राजेश घतानीले जानकारी दिएका छन्।
पछिल्ला केही वर्षयता नेपाल मात्र होइन, विश्वभर नै ‘हिँड्दाहिँड्दै ढलेर मृत्यु’, ‘सुतिरहेकै अवस्थामा निधन’, ‘व्यायाम गरिरहेका बेला अचानक बेहोस भएर ज्यान गुमायो’ जस्ता घटनाहरू बारम्बार सार्वजनिक भइरहेका छन्। यस्ता घटनालाई सामान्यतया हृदयघात भनेर बुझ्ने गरिए पनि चिकित्सकहरूका अनुसार धेरैजसो अवस्थामा वास्तविक कारण कार्डियाक अरेस्ट अर्थात् अचानक मुटुको धड्कन बन्द हुनु हो।
चिकित्सा विज्ञानका अनुसार कार्डियाक अरेस्ट कुनै पनि उमेरका व्यक्तिमा अचानक देखिन सक्ने गम्भीर अवस्था हो, जसले समयमै उपचार नपाए ज्यानसमेत लिन सक्छ।


