संसद्मा भएका रास्वपा, एमाले, नेकपा र राप्रपाले संसदीय दलको नेता चयन गरिसक्दा अन्तरकलहका कारण कांग्रेसको दल नेता चयनमा ढिलाइ भएको छ । श्रम संस्कृतिबाट पार्टी अध्यक्ष हर्कराज राई (साम्पाङ) दल नेता हुने निश्चित भए पनि निर्णय हुन बाँकी छ । बिहीबारदेखि संसद् सुरु हुँदै छ ।
संसद्मा दल नेता र सचेतकको महत्त्वपूर्ण भूमिका हुने भएकाले वरिष्ठ नेता र सांसदहरूको दाबी रहने गरेको छ । रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह दलको नेता चयन भई प्रधानमन्त्रीको कार्यभार सम्हालिसकेका छन् । रास्वपा दल उपनेता, मुख्य सचेतक र सचेतक चयनको गृहकार्यमा लागेको छ । सुरुमा सभामुख र उपसभामुख टुंग्याएपछि अरू विषयमा अघि बढ्ने रास्वपाले जनाएको छ । रास्वपाबाट सभामुख भएपछि उपसभामुख अन्य दललाई दिनुपर्नेछ ।
‘प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ,’ संविधानमा उल्लेख छ । रास्वपाले उपसभामुखका लागि संसद्मा रहेका कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति वा राप्रपाका उम्मेदवारलाई समर्थन गर्नुपर्नेछ । रास्वपाको उपनेतामा समीक्षा बाँस्कोटा, प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटी, सचेतक निशा डाँगीको चर्चा भए पनि टुंगो लागेको छैन । ‘सभामुख र उपसभामुखको टुंगो लागेपछि संसद्का अरू पद चयन प्रक्रिया अघि बढ्छ,’ रास्वपाका एक पदाधिकारीले भने ।
कांग्रेसमा आन्तरिक विवाद लम्बिँदा पार्टीको संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । कांग्रेसले संसदीय दलको नेता चयन नगरेकाले दलीय हैसियतमा बिहीबारकै बैठकमा कसले बोल्ने भन्नेसमेत सांसदहरूबीच अन्योल खडा भएको छ । निर्वाचनलगत्तैदेखि सुरु भएको कांग्रेसको आन्तरिक विवाद अझै मत्थर भएको छैन । तत्कालीन सभापति शेरबहादुर देउवाको समूहबाट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको समानान्तर गतिविधि चलाउँदै आएका छन् । नेता शेखर कोइराला र उनीपक्षीय नेताहरू पनि अहिले त्यही समूहमा छन् ।
विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको अस्तित्व पुरानो संस्थापन पक्षले स्वीकार नगर्दा कांग्रेसभित्र द्वन्द्व बढ्दो छ । यसै कारण पनि संसदीय दलको नेता चयन प्रभावित भएको कांग्रेस नेताहरूको बुझाइ छ । महामन्त्री गुरुराज घिमिरे भने पार्टीको सांगठनिक कामका अन्य व्यस्तताका कारण दल नेता चयनमा केही ढिलाइ हुन गएको बताउँछन् । दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउनकै लागि आगामी शनिबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको उनले बताए ।
‘बैठकले निर्वाचन समिति बनाउनेछ, त्यसपछि दलको नेता चयनको प्रक्रिया अघि बढ्छ,’ घिमिरेले भने । संस्थापन पक्षले पार्टी कमजोर बनेको अवस्थामा दलको नेता चयन सर्वसम्मतिबाट होस् भन्ने चाहना राखेको छ । तर, देउवा पक्ष भने आफ्नो समूहबाट दलको नेता उठाउन सकिने संकेत दिइरहेको छ । यसो गर्दा देउवा पक्षबाट तत्कालीन सहमहामन्त्री भीष्म आङ्दम्बेको नाम चर्चामा छ । पार्टीभित्रको विवादमा आङ्दम्बे मध्यमार्गी भूमिका देखिन चाहेका छन् । यही भूमिकाले उनको नाममा सर्वसम्मति हुन सक्ने अर्का एक पदाधिकारीले बताए ।
विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूमा अर्जुननरसिंह केसी, भरतबहादुर खड्का र मोहन आचार्यको नामसमेत दल नेतामा चर्चामा छ । कांग्रेसमा मात्रै नभई संसद्कै ज्येष्ठ सदस्य छन्, केसी । ज्येष्ठ सदस्य भएकाले सभामुखको निर्वाचनसम्म उनैले संसद्को अध्यक्षता गर्नेछन् । केसीले दलको नेताका लागि केही समयअघि नै चाहना राखेका थिए ।
उनले संसद्को अध्यक्षता गर्ने भूमिकामा रहेकाले पार्टीभित्रको कुरा नगर्ने बताए । ‘मैले संसद्को जिम्मेवारी सकेर फर्केपछि त्यतिबेलै दलको नेतामा के गर्ने भन्नेबारेमा कुरा गर्छु, अहिले फरक जिम्मेवारीमा भएका बेला भन्न मिलेन,’ उनले भने । संसद्मा युवाको बाहुल्य भएकाले पुराना नेताहरूलाई नभएर युवा सांसद निश्कल राईलाई दलको नेता बनाउन पनि कांग्रेसमा लबिइङ भइरहेको छ ।
एमालेले बुधबार उपाध्यक्ष रामबहादुर थापालाई निर्विरोध दलको नेता चयन गरेको छ । संसदीय दलको बैठकले थापालाई दलको नेता चयन गरेको हो । तर यसले एमालेमा विवाद सिर्जना भएको छ । सांसद सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका थिए । ‘पार्टीभित्रको यो निराशा र हतासालाई अन्त्य गर्न मैले विष पिएर भए पनि दलको नेता दाबी गर्ने आँट गरेको छु,’ उनले भनेका थिए ।
निर्वाचन अधिकृत नीरज आचार्यले उपाध्यक्ष थापाबाहेक अरूले उम्मेदवारी दर्ता नगरेकाले निर्विरोध भएको जानकारी दिए । ‘सांसद सुहाङले पनि उम्मेदवारीका लागि फाराम लिनुभएको थियो तर बुझाउनु भएन,’ उनले भने, ‘उपाध्यक्ष थापाको मात्र उम्मेदवारी परेकाले निर्विरोध दल नेता चयन हुनुभयो ।’
सचिवालयमा थापाका नाममा सर्वसम्मत बनाउने प्रयास भए पनि सुहाङले अस्वीकार गरेका थिए । बैठकमा सुहाङले निर्वाचन प्रक्रियाबाट दल नेता चयन गर्न माग गरेका थिए । तर बैठकमा उपस्थित सांसदहरू सुहाङको पक्षमा प्रस्तावक र समर्थक बसेनन् । बैठकमा प्रतिनिधिसभाका २५ र राष्ट्रिय सभाका १० सांसद उपस्थित थिए ।
थापा दलको नेता चयन भएपछि उपमहासचिव योगेश भट्टराईले एमालेको व्यापक पुनर्गठनमार्फत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नुपर्ने भन्दै प्रक्रियाप्रति असहमति जनाएका छन् । ‘एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो, यसबाट सिंगो पार्टी पंक्तिलाई थप चिन्तित बनाएको छ,’ उनले भनेका छन्, ‘केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरूका बीचमा छलफलका माध्यमबाट उच्चस्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो, यो राम्रो भएन ।’
नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन भइसकेका छन् । १५ चैतमा बसेको नेकपा संसदीय दलको बैठकले उनलाई निर्विरोध दलको नेता चयन गरेको थियो । नेकपामा युवा सांसदले दल नेता हुन चाहे पनि मुख खोल्न सकेनन् । नेकपाले प्रमुख सचेतक र सचेतक चयन गरेको छैन । नेकपाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जितेको छ ।
संसद्मा ७ सिट भएको श्रम संस्कृति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष हर्कराज राई (साम्पाङ) हुने निश्चित छ । पार्टीका प्रवक्ता सत्य घलेले साम्पाङ नै दलको नेता हुने बताए । संसद्मा ५ सिट भएको राप्रपाले सांसद ज्ञानबहादुर शाहीलाई दल नेता चयन गरिसकेको छ । यो पार्टीको प्रमुख सचेतकमा खुस्बु ओली चयन भएकी छन् ।


