त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार ६८९ रुपैयाँ बराबरको विदेशी तथा नेपाली मुद्रा सहित नेपाल एयरलाइन्सका एक सवारी चालक पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी बसन्त रजौरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा फलामको कराईमा लुकाएर लैजान लागिएको उक्त रकम फेला पारेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, का अनुसार पक्राउ पर्नेमा सुनसरी गढी गाउँपालिका–१ घर भई हाल काठमाडौंको बबरमहल बस्ने ५० वर्षीय कमल नारायण विश्वास रहेका छन्।
विश्वास नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड इक्विपमेन्ट अपरेटर पदमा कार्यरत रहेको जनाइएको छ। उनी सोमबार राति २:२० बजे मलेसियाको क्वालालम्पुर जान लागेका थिए।
विमानस्थलस्थित अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ब्यागेज स्क्रिनिङ क्षेत्र मा जाँचका क्रममा उनले बोकेको झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा विदेशी तथा नेपाली मुद्रा फेला परेको एसएसपी बसन्त रजौरेले बताए ।
बरामद गरिएको रकममा अमेरिकी डलर, ओमानी रियाल, पाकिस्तानी रुपैयाँ, मलेसियन रिङ्गिट, श्रीलंकन रुपैयाँ, जापानी येन, वेस्ट अफ्रिकन मिल फ्रान्क्स तथा नेपाली रुपैयाँ रहेका छन्।
प्रहरीका अनुसार बरामद मुद्राको नेपाली मूल्य करिब ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा बराबर रहेको छ। Basant Rajaure Basant Rajaure

