नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सरुवा भई कार्यक्षेत्रमा जान लागेका एसएसपीहरूलाई सम्बोधन गर्दै आईजीपी कार्कीले नवीन सोच र सिर्जनशीलतासहित कार्यसम्पादन गर्न आग्रह गरे। उनले उपलब्धिमूलक तथा उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना व्यक्त गर्दै संगठनको गरिमा र नागरिकको विश्वास कायम रहने गरी जिम्मेवारी बहन गर्नुपर्ने बताए।
प्रहरी महानिरीक्षक कार्कीले संगठनको शुद्धीकरण र सुदृढीकरणलाई प्राथमिकतामा राखी नेपाल प्रहरीको संस्थागत विकासमा योगदान पुग्ने गरी काम गर्न निर्देशन दिए। उनले शून्य सहनशीलताको नीतिअनुसार प्रविधिको अधिकतम प्रयोग गर्दै योजनाबद्ध, पारदर्शी, समयसापेक्ष तथा नागरिकमैत्री सेवा प्रवाहमा जोड दिनुपर्ने बताए।
संगठनका नीति तथा निर्देशनहरूको प्रभावकारी कार्यान्वयनमार्फत निर्धारित लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारी सक्रिय हुनुपर्ने उल्लेख गर्दै उनले चेन अफ कमाण्डको पालना, सामूहिक कार्यसंस्कृति र जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याए। मातहतका प्रहरी कर्मचारीहरूको क्षमता विकास, समस्या तथा गुनासोको उचित व्यवस्थापन र उदाहरणीय नेतृत्व प्रस्तुत गर्न पनि उनले निर्देशन दिए।


