एआईजी शिद्दीविक्रम शाहको प्रमुख आतिथ्यमा झापामा प्रहरी प्रशिक्षणको गुणस्तरबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी प्रशिक्षणको स्तर, प्रभावकारिता तथा गुणस्तरीयता अभिवृद्धिसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी शिद्दीविक्रम शाहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
जिल्ला प्रहरी कार्यालय झापाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रहरी संगठनभित्र सञ्चालन भइरहेका तालिमको प्रभावकारिता, प्रशिक्षण प्रणालीको सुधार, व्यावसायिक क्षमता अभिवृद्धि तथा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूले तालिमका क्रममा प्राप्त अनुभव, प्रशिक्षणमा देखिएका चुनौती तथा सुधार गर्नुपर्ने पक्षबारे आफ्ना धारणा राखेका थिए। उनीहरूले बदलिँदो सुरक्षा चुनौतीसँग सामना गर्न आधुनिक र व्यवहारिक प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।
प्रमुख अतिथि एआईजी शाहले प्रहरी संगठनको दक्षता र व्यावसायिकता अभिवृद्धिका लागि गुणस्तरीय प्रशिक्षण अपरिहार्य रहेको बताउनुभएको थियो। उहाँले प्रहरी कर्मचारीको क्षमता विकाससँगै नागरिकमैत्री सेवाप्रवाहलाई सुदृढ बनाउन प्रशिक्षण प्रणालीलाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्रशिक्षणका क्रममा देखिएका समस्या, आवश्यक स्रोतसाधन तथा भावी दिनमा प्रशिक्षणलाई थप प्रभावकारी बनाउने उपायबारे समेत अन्तरक्रिया गरिएको थियो।
झापाकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार प्रहरी कर्मचारीहरूको सुझाव, अनुभव र आवश्यकतालाई समेटेर प्रशिक्षण प्रणालीलाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । प्रहरी संगठनभित्र व्यावसायिक दक्षता, अनुशासन र सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्न यस्ता अन्तरक्रियात्मक कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


