‘प्रहरीको नाममा एक रुपैयाँ असुले पनि छोड्दिनँ’ : एसपी पवनकुमार भट्टराई
पर्सा जिल्ला प्रहरी प्रमुख एसपी पवनकुमार भट्टराईले प्रहरीको नाममा सेवाग्राहीसँग रकम असुल्ने बिचौलिया तथा अन्य व्यक्तिविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
एसपी भट्टराईले प्रहरीबाट प्रदान गरिने कुनै पनि सेवाका लागि सेवाग्राहीले एक पैसा पनि तिर्नु नपर्ने स्पष्ट पारेका छन्। प्रहरीको नाममा बिचौलियाले एक रुपैयाँसमेत असुलेको प्रमाणित भए तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गरिने उनले बताएका छन्।
उनले ‘प्रहरीको नाममा एक रुपैयाँ असुले पनि छोड्दिनँ’ भन्दै प्रहरी सेवामा हुने आर्थिक अनियमितता तथा बिचौलियाको गतिविधिप्रति आफू शून्य सहनशीलताको नीतिमा रहेको स्पष्ट पारे।
अपराधमा संलग्न व्यक्ति जोसुकै भए पनि कानुनी दायरामा ल्याइने बताउँदै एसपी भट्टराईले ‘पर्सा प्रहरीमा अपराधीका लागि कुनै छुट छैन’ भन्ने स्पष्ट सन्देश दिएका छन्। अपराध नियन्त्रणसँगै पीडितलाई न्याय दिलाउने विषयलाई प्राथमिकतामा राखेर काम भइरहेको उनको भनाइ छ।
एसपी भट्टराईले पीडित तथा सेवाग्राहीलाई बिचौलियाको भर नपरी सिधै सम्बन्धित प्रहरी कार्यालय वा आफूलाई सम्पर्क गरी गुनासो राख्न आग्रह गरेका छन्।
प्रहरी सेवाका क्रममा कुनै व्यक्ति वा बिचौलियाले रकम मागेमा त्यसबारे तत्काल जानकारी गराउन आग्रह गर्दै उनले त्यस्ता गतिविधिमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले पीडितलाई न्याय दिलाउने र दोषीलाई कानुनको कठघरामा उभ्याउने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै पर्सामा प्रहरी सेवाप्रति जनताको विश्वास थप मजबुत बनाउने गरी काम गर्ने बताएका छन्।

