निराज रानाभाट, चितवन : नेपालको समग्र शिक्षाको बहसका लागि चितवनमा शिक्षा कार्यशाला सम्पन्न हुँदै छ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल वाग्मती प्रदेशको आयोजनामा भदौ १८ गते, सोमबार, चितवनको भरतपुरस्थित होटल ग्लोबलको सभा हलमा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला सम्पन्न हुँदै छ । विभिन्न विश्वविद्यालयका प्रतिनिधि, प्राध्यापक, शिक्षक, शिक्षाविद् तथा विद्यार्थीहरूसहित करिब १ सय भन्दा धेरैको सहभागितामा सम्पन्न हुने कार्यशालाको उद्घाटन कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप – कुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीले गर्ने छन ।
उक्त कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले समग्र नेपालको शिक्षाको अवस्था, चुनौती र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्ने छन, भने पूर्वाञ्चल विश्वविद्यालयका डिन प्रा.डा. बिजु थपलिया र वीरेन्द्र बहुमुखी क्याम्पसका प्राचार्य प्रा.दयाराम पौडेलले उक्त कार्यपत्रमाथि टिप्पणी गर्ने छन् ।
साथै सहभागीहरूमाझ बृहत् चिन्तन एवम् चर्चा हुने छ । चितवन मेडिकल कलेजकी प्राध्यापक ममता न्यौपानेको संयोजकत्वमा सम्पन्न हुने कार्यशालामा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, महा – सचिव विष्णु प्रसाद पंगेनी, राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल लगायतका पदाधिकारीहरूको विशेष उपस्थिति रहने छ । विगतमा विद्यार्थी परिषद्ले गत फागनु ६ र ७ गते राष्ट्रिय शिक्षा कार्यशाला सम्पन्न गरेको थियो, भने अलग अलग मितिमा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय शिक्षा कार्यशाला सम्पन्न गरिसकेको विद्यार्थी परिषद्का वाग्मती प्रदेश उपाध्यक्ष विपिन कडेंलले जानकारी दिए ।


